बिहीबारबाट कुखुरा बिक्री खुला
२३ साउन, काठमाडौं । सरकारले कुखुरा बिक्री वितरणमा लगाएको रोक भोली बिहीबारदेखि लागू हुने गरी खुला गरेको छ । बर्ड फ्लू व्यापाक फैलिएपछि नियन्त्रणको लागि सरकारले कुखुरा, कुखुराको मासु र फुलको कारोबार एक हप्ता रोक्ने निर्णय गरेको थियो ।
बिहीबारबाट प्राविधिकबाट चेकजाँच गरी कारोबार खुला गर्ने निर्णय गरिएको पशु सेवा विभागका प्रवक्ता नारायण घिमिरेले बताउनुभयो । काठमाडौंका चार नाका नाकढुंगा, साँगा, फर्पिङ र नागार्जुनमा सरकारी प्राविधिकले क्वारेनटाइन चेक गरेर स्वस्थ कुखुराको कारोबार गर्न दिइने उहाँले जानकारी दिनुभयो ।
रोगी कुखुरा नष्ट गर्ने कामका उल्लेख्य सफलता हासिल भएको, बर्ड फ्लूबारे जनचेतना अभिवृद्धि भएको र व्यवसायीले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेपछि बिक्रीवितरण खुला गरेको विभागले जनाएको छ ।
यद्यपि सम्भावित जोखिमलाई ध्यानमा राख्दै नाकाहरुमा चेकजाँच र सरकारी निगरानी बढाउने निर्णय भएको पनि प्रवक्ता घिमिरेले जानकारी दिनुभयो । यसअघि किसान र बिक्रेताले सरकारलाई लुकाएर रोगी कुखुरा बिक्री वितरण गरेका कारण रोग फैलिन सहयोग पुगेको सरकारी अधिकारीले बताएका थिए ।
No comments: